गाउँमा पानी पुर्याउन पनि खुबै संघर्ष थियो प्राविधिक अभावले काम खासै अगाडि बढाउन सकेको थिएन । गाउँमा प्लम्बर सिकेका तालिमप्राप्त व्यक्ति पनि थिएनन् । यसै बीचमा गाउँपालिकामा ट्रेनिङ सेन्टर नेपालले ६५ दिने निशुल्क प्लम्बरको तालिम सम्बन्धी सूचना आइपुग्यो । पालिकाले पनि गाउँ भरी यस्तो अवसरको जानकारी गरायो ।
पूर्व रुकुमको राङ्सीका बासिन्दालाई अहिले पानीको लागि गाग्री र डोल बोकेर घन्टौँ सम्म हिँड्नु पर्ने अवस्था छैन । गाउँमा एक घर एक धारा कार्यक्रम सुरुवात भए यता गाउँका सबैको आँगनमा पानीको धारा पुगेको छ । यो कार्यक्रमले गर्दा गाउँबासीलाई पानीका लागि दैनिक संघर्ष गर्नुपर्ने बाध्यता हट्यो, भने यही कार्यक्रमको सिलसिलामा धेरैले रोजगारी पनि पाए ।
पानीको धारा आएपछि गाउँबासी उत्साहित थिए । यी मध्ये अझ हर्षित छन् ४८ वर्षीया बागी प्रसाद ।
खेती किसानी गरेर जीविको चलाइरहेका उनलाई अब गाउँकै विकास कार्यक्रममा काम पाउँछ भन्ने लाग्यो ।
“हातमा रोजगारी छैन, काम गर्ने रहर थियो, गाउँमा धारा बन्ने भएपछि श्रमिकको काममा हामीलाई पनि राख्ने कुरा आएर खुसी लाग्यो,” बागी सुनाउँछन् ।
गाउँमा पानी पुर्याउन पनि खुबै संघर्ष थियो प्राविधिक अभावले काम खासै अगाडि बढाउन सकेको थिएन । गाउँमा प्लम्बर सिकेका तालिमप्राप्त व्यक्ति पनि थिएनन् । यसै बीचमा गाउँपालिकामा ट्रेनिङ सेन्टर नेपालले ६५ दिने निशुल्क प्लम्बरको तालिम सम्बन्धी सूचना आइपुग्यो । पालिकाले पनि गाउँ भरी यस्तो अवसरको जानकारी गरायो ।
युवाहरूलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको भन्दै गाउँपालिकाले सूचना पुर्याएपछि बागीलाई आफ्नो नाम पठाउन मन लागेन ।
“४७ वर्ष पुगिसकेको थिएँ मलाई ट्रेनिङमा लैजान्छ भन्ने लागेकै थिएन , चासो हुँदा हुँदै पनि म निवेदन दिन गइन,” बागी सुनाउँछन् ।
गाउँपालिकाले निवेदन माग गरेपनि त्यहाँका युवाले तालिममा खासै चासो देखाएनन् । गाउँपालिकामा निवेदन शून्य थियो, पछि त्यहीका कर्मचारीले बागीलाई तालिममा जाने भनेर प्रश्न गरेँ ।
“सोचेजस्तै भयो, युवाले चासो देखाएनन् , म उमेर खाएको मान्छे अवसर पाउने भएँ, त्यसपछि फुलेको सेतो कपाल र चाउरिएको गाला लिएर म निवेदन दिन पुगेँ,” बागी हाँस्दै सम्झन्छन् ।
ट्रेनिङ सेन्टरले दिने सीप निशुल्क भएको कारण बस्ने खाने सबै खर्च संस्थाले नै बेहोर्थ्यो । बागीले तालिम अवधि भर ध्यान सबै कुराहरू ध्यान दिएर सिके ।
“तन्नेरी भन्दा पनि ध्यान लगाएर उहाँले तालिम सिक्नुहुन्थ्यो, अरू भन्दा मेहनत गर्नुहुन्थ्यो हामीले पनि उहाँलाई ६५ दिनमा पोख्त बनायौँ,” ट्रेनिङ सेन्टर नेपालका अध्यक्ष अर्नराज सिलवाल सुनाउँछन् सुनाउँछन् ।
हुनत: बागीले वैदेशिक रोजगारीको क्रममा ५ वर्ष साउदी अरबमा बिताए । लेभर भिसामा लामो समय वैदेशिक बसाइमा पनि उनले पैसा कमाउँन सकेनन् ।
साउदीबाट फर्किएपछि उनी इराक हानिए, नेपाल सरकारले श्रम स्वीकृति नदिएको देश इराकमा पनि उनले लेभर भिषामै काम गरेँ, तर त्यहा पनि उनको त्यत्ती राम्रो कमाइ भएन ।
यसरी वैदेशिक रोजगारिले पनि आफ्नो आर्थिक अवस्था सुधार नभए पछी उनी नेपाल फर्किएर कृषि गर्न थाले, कृषिबाट उनको जेनतेन जीविको चल्ने गरेको छ ।
“सरकारी नीति कार्यक्रम छैन, विदेशमा सार्हो दुःख पाइन्छ, पैसा पनि कमाउँन सकिँदैन तालिम दिएर रोजगारी दिए सबै नेपाली यहिँ काम गर्ने थिए,” बागी भन्छन् ।
बागीको जीवन विदेश जाने नेपाल फर्किने अनि जेनतेन जीविको चलाउने सेरोफेरोमा नै अल्झियो । राम्रो शिक्षा दिक्षा लिन नपाएका उनले खासै सीप सिक्न पनि पाएनन् ।अहिले भने रोजगारीको ठूलो आश बोकेर ट्रेनिङ सेन्टर नेपालसम्म पुगेका छन् ।
सरकारको एक घर एक धारा कार्यक्रममा रोजगारी पाइन्छ भन्ने उनलाई ठूलो आशा छ । उनी भन्छन् “जीवनको ४ दशक सीप बिनाको श्रमिक बनेर बित्यो, अबको जीवन भने दक्ष श्रमिकको रूपमा काम गरेर कटाउन मन छ ।”
Comments 0